फोहर व्यवस्थापन बैठकमा सांसद आशिकाको आक्रोश, मन्त्रीले मागे माफी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले माफी मागेका छन्।

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएकाले सञ्चारमन्त्री तिमिल्सिनाले बैठकको अध्यक्षता गरेका थिए।

छलफलका क्रममा उपस्थित मेयरहरूमाथि सांसद तामाङ आक्रोशित हुँदै कडा रूपमा प्रस्तुत भएपछि बैठकको वातावरण तनावपूर्ण बनेको थियो। त्यसपछि उनी आक्रोशित मुद्रामा बैठकबाट बाहिरिएकी थिइन्।

सांसद तामाङ बैठकबाट बाहिरिएपछि धारणा राख्दै केही मेयरहरूले उनको व्यवहारप्रति आपत्ति जनाएका थिए। जनप्रतिनिधिहरूबीचको छलफलमा मर्यादा कायम हुनुपर्ने भन्दै उनीहरूले घटनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

त्यसपछि बैठकको अध्यक्षता गरिरहेका सञ्चारमन्त्री तिमिल्सिनाले घटनाप्रति माफी माग्दै बैठकलाई पुनः विषयकेन्द्रित बनाउन आग्रह गरेका थिए।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार