देशभर मनसुनी प्रभाव, धेरै स्थानमा वर्षा जारी : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बिहीबार विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक रहेकाले देशभर यसको प्रभाव देखिएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागसँगै मधेस प्रदेशका धेरै स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार