काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको आर्थिक प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।
नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबार जारी गरेको विशेष अनुरोधमा पछिल्ला केही दिनयता दुबई, कतारलगायत विभिन्न मुलुकबाट स्वदेश फर्किने नेपालीलाई अपरिचित व्यक्ति तथा दलालहरूले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने प्रयास गरिरहेको उल्लेख गरिएको छ।
कार्यालयका अनुसार यस्ता गतिविधि प्रचलित कानुनविपरीत हुन्। यस प्रकारका अवैध ओसारपसारमा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाउँदै दोषी पाइए कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट फर्किने यात्रुलाई अपरिचित व्यक्तिको सामान नबोक्न, आफ्ना झोला तथा सामानमा रहेका वस्तुको वास्तविक विवरणबारे पूर्ण जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न र भन्सारसम्बन्धी प्रचलित कानुनको पालना गर्न आग्रह गरेको छ। साथै, दलालको प्रलोभनबाट टाढा रहन पनि सबैलाई सचेत गराइएको छ।
कार्यालयले विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि, प्रलोभन वा सुरक्षा जोखिम देखिएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन सबै यात्रुसँग अनुरोध गरेको छ।


