चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका २५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
चितवन जिल्ला अदालतको विभिन्न मिति र फैसला बमोजिम कैद तथा जरिवाना भई फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुसन यादबले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका ८ जना, लागूऔषध मुद्दाका ७ जना, चोरी मुद्दाका ५ जना, अभद्र व्यवहार मुद्दाका ३ जना, बिगो मुद्दाका १ जना तथा आगो लगाई ज्यान मार्ने उद्योग मुद्दाका १ जना रहेका छन् । उनीहरुमाथि अदालतले तोकेको जम्मा ६ महिना १९ दिन कैद सजाय र ३ लाख १६ हजार ४३२ रुपैयाँ जरिवाना रहेको यादवले बताउनुभयो ।


