महिला सशक्तीकरणका लागि कालिकामा सिलाइ–बुनाइ तालिम सुरु

कालिका । सपना भिलेज सोसियल इम्प्याक्टले समग्र सामुदायिक विकास कार्यक्रम अन्तर्गत चेपाङ समुदायका महिलाहरूका लागि सिलाइ–बुनाइ तालिम सुरु गरेको छ। कालिका नगरपालिका वडा नं. १० मा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन सपना भिलेज सोसियल इम्प्याकटका संस्थापक अध्यक्ष ध्रुव गिरीको अध्यक्षता तथा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख तथा सपना भिलेज सोसियल इम्प्याकटका बोर्ड सदस्य नारायण वन, बोर्ड सदस्य अजितमान प्रधान तथा कालिका नगरपालिका वडा नं. १० की वडा सदस्य सञ्जु तामाङको विशेष आतिथ्यता रहेको थियो।

तालिममा कालिका नगरपालिका वडा नं. १० र ११ का चेपाङ समुदायका २० जना महिलाको सहभागिता रहेको छ। तालिमका प्रशिक्षकका रूपमा यसअघि सपना भिलेजबाट ६ महिने सिलाइ–बुनाइ तालिम प्राप्त गरेका दुई जना महिला तथा सीटीईभीटीबाट मान्यता प्राप्त एक जना प्रशिक्षक सहभागी रहेको सपना भिलेजका संस्थापक ध्रुव गिरीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै वडा सदस्य सञ्जु तामाङले सपना भिलेजले विगतदेखि नै महिलालाई सीपमूलक तालिममार्फत उद्यमशील बनाउँदै आएको उल्लेख गर्नुभयो। त्यसैगरी बोर्ड सदस्य अजितमान प्रधानले प्रत्येक मानिससँग सपना हुने र ती सपनालाई साकार पार्न आत्मप्रतिबद्धता आवश्यक हुनेमा जोड दिनुभयो। उहाँले सपना भिलेजका संस्थापक ध्रुव गिरीलाई सपनालाई वास्तविकतामा रूपान्तरण गर्न सकिने प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। बोर्ड सदस्य नारायण वनले तालिमलाई गम्भीरतापूर्वक सिकेर उज्ज्वल भविष्यतर्फ अघि बढ्न महिलाहरूलाई प्रेरित गर्नुभयो।

प्रमुख अतिथि नगरप्रमुख विनोद रेग्मीले सपना भिलेजले नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरेका कार्यक्रमहरूले कालिका नगरपालिकामा रहेका विपन्न चेपाङ समुदायलाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढ्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष ध्रुव गिरीले विगतमा सञ्चालन गरिएका वेटर तालिम, पार्लर तालिम, उन्नत जातका बाख्रा, भंगुरका पाठापाठी तथा मौरीघार वितरणजस्ता कार्यक्रमले चेपाङ महिलाहरूको जीवनस्तर उकास्न योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँले सहभागी महिलाहरूलाई तालिमलाई गम्भीरतापूर्वक सिक्न आग्रह गर्दै तालिम पश्चात व्यवसाय सञ्चालन गर्न इच्छुक महिलालाई आवश्यक सहयोग प्रदान गरिने र सिकाइ पूरा भएपछि सिलाइ मेसिन महिलाकै नाममा हस्तान्तरण गरिने जानकारी दिनुभयो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार