ट्रम्प र एपस्टिन सम्बन्धबारे ह्वाइट हाउसकी चिफ अफ स्टाफको सनसनीपूर्ण खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी चिफ अफ स्टाफ सुसी विल्सले ‘भ्यानिटी फेयर’ म्यागजिनलाई दिएको एक लामो र स्पष्ट अन्तर्वार्तामा थुप्रै स्तब्ध पार्ने खुलासाहरू गरेकी छन् । अहिले विश्वभर त्यसको चर्चा भइरहेको छ ।

विल्सले ट्रम्प र कुख्यात यौन अपराधी जेफ्री एपस्टिनको पुरानो सम्बन्धबारे टिप्पणी गर्दै उनीहरू कुनै समय युवा र अविवाहित प्लेब्वाईका रूपमा सँगै समय बिताएको बताएकी छन् । विल्सका अनुसार उनले एपस्टिन फाइल्सको अध्ययन गरेकी र यसमा ट्रम्पको नाम पनि समावेश रहेको बताएकी छन् ।

विल्सले भनिन्, “ट्रम्प एपस्टिनको विमानमा थिए, उनको नाम म्यानिफेस्ट (यात्रु सूची) मा छ । उनीहरू युवा र अविवाहित साथीका रूपमा सँगै थिए । तर, फाइलमा ट्रम्पले कुनै गलत काम गरेको देखिँदैन ।”

एपस्टिनको निजी टापुमा हुने गरेका यौन शोषणका घटनाबारे चर्चा गर्दै विल्सले शक्तिशाली व्यक्तिहरूको संलग्नताप्रति संकेत गरिन् ।

उनले भनिन्, “चाहे सीआईए वा मोसादका एजेन्ट हुन् । वा ती धनी र प्रभावशाली व्यक्तिहरू किन नहुन्, जो-जो त्यो घिनलाग्दो स्थान (टापु) मा गए र कम उमेरका केटीहरूसँग क्षम्य नहुने कामहरू गरे । मलाई यसबारे थोरै जानकारी त थियो, तर मैले कहिल्यै गहिरिएर ध्यान दिइनँ ।”

अन्तर्वार्तामा विल्सले ट्रम्पको व्यक्तित्वलाई लिएर अनौठो तुलना गरेकी छन् । उनले रक्सी सेवन नगर्ने ट्रम्पको स्वभाव ‘एक जड्याहाको जस्तो’ रहेको बताइन् । उनले ट्रम्पको यो स्वभाव उनका पितासँग मेल खाने दाबी गरिन् ।

साथै, उनले अन्य प्रभावशाली व्यक्तिहरूमाथि पनि तिखो प्रहार गरेकी छन् ।

उपराष्ट्रपति जेडी भान्सलाई उनले एक दशकदेखिका ‘षड्यन्त्र सिद्धान्तकार’ भनेर चित्रण गरिन् ।

अर्बपति एलन मस्कलाई उनले अनौठौ मानिसको संज्ञा दिँदै उनका केही निर्णयहरूमा अचम्म लागेको बताइन् ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीमाथि एपस्टिन फाइल्सको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप लगाइन् ।

विल्सको स्पष्टीकरण र ह्वाइट हाउसको बचाउ

अन्तर्वार्ता प्रकाशित भएर विवाद चर्किएपछि सूसी विल्सले यसलाई आफ्नो र राष्ट्रपतिको छवि बिगार्ने नियतले लेखिएको ‘हिट पिस’ भनेकी छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनिन्, “यो लेखमा सन्दर्भहरूलाई बंग्याइएको छ र टिम तथा राष्ट्रपतिबारे गरिएका सकारात्मक कुराहरूलाई हटाइएको छ ।”

ह्वाइट हाउसले पनि विल्सको समर्थन गर्दै अन्तर्वार्तालाई ‘सन्दर्भ बाहिर’ भनी टिप्पणी गरेको छ ।

अमेरिकामा जेफ्री एपस्टिन यौन तस्करी प्रकरणलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो यौन स्क्यान्डल मानिन्छ, जसमा विश्वका कयौँ शक्तिशाली राजनीतिज्ञ, उद्योगपति र सेलिब्रेटीहरूको नाम जोडिएको छ । स्रोत-एजेन्सी

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार