रत्ननगर–१२ जिरौनास्थित साङ्गे छ्योइलिङ गुम्बामा बौद्ध पाठशाला तथा भौतिक पूर्वाधार निर्माणका लागि पाँचदिने त्रिपिटक (ह्यूम) प्रज्ञापारमिता पाठ, लामा गुरुबाट पूजापाठ र दैनिक प्रवचनसहितको विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। पहिलोपटक आयोजना हुन लागेको यो कार्यक्रम मंसिर २८ गतेदेखि पौष ३ गतेसम्म सञ्चालन हुनेछ।
गुम्बाले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कार्यक्रम संयोजक तथा रत्ननगर–१२ का संस्थापक वडाध्यक्ष वीरबहादुर पाख्रिनका अनुसार बौद्ध पाठशाला निर्माणका लागि आवश्यक आर्थिक अभाव रहेकाले सहयोग संकलन उद्देश्यसहित कार्यक्रम आयोजना गरिन लागेको हो।
“अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा रहेका दाताबाट प्रति व्यक्ति १ देखि १ लाख ५० हजार रुपैयाँसम्म सहयोग प्राप्त हुने आशा छ,” पाख्रिनले बताए। उनले नयाँ पुस्तालाई धर्म, संस्कृति र परम्पराबारे सिकाउन पाठशाला अत्यावश्यक भएको पनि उल्लेख गरे।
मंसिर २८ गते विहान ९ बजे विविध जातजातीको झाँकीसहित शोभायात्रा निस्कनेछ। गुम्बा सजावटदेखि पत्र–पत्राचारसम्मका सबै तयारी तीव्रगतिमा भइरहेको पाख्रिनले जानकारी दिए। बौद्ध गुरुहरूका प्रवचन सबैले बुझ्नेगरी उल्थासहित प्रस्तुत गरिने पनि उनले स्पष्ट पारे।
कार्यक्रमका अन्तर्गत पौष ३ गते परम पुजनीय गुरु स्याल्पा तेन्जिङ रिम्पोछेज्यूबाट ‘आयु अभिषेक’ (छेवाङ) प्रदान गरिनेछ। साथै खेन्पो श्री वागेन्द्रशिल तिमल्सिना, लापेन पेमा मोक्तान तथा लोपन रिन्छेन दोर्जे गुरुङले दैनिक प्रवचन दिनेछन्।
रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणी सुवेदीले पवित्र उद्देश्यले सुरु हुन लागेको कार्यक्रममा तन, मन, धनले सहयोग गर्न सबैलाई आग्रह गरे। पत्रकार सम्मेलनमा बौद्ध धर्मगुरु पेमा छ्योईफेल, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि भिष्मराज पौडेललगायतले पनि आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रम साङ्गे छ्योइलिङ गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।


