हङकङ सिक्सेस : पाकिस्तानले बनायो १२ बलमा ६७ रन

काठमाडौं । अन्तिम दुई ओभरमा ६७ रन बनाएपछि पाकिस्तानले हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेसमा कुवेतविरुद्ध चार विकेटको जित निकालेको छ ।

शुक्रबार मोङकोकमा सम्पन्न खेलमा कुवेतले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पाकिस्तनले ६ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो ।

पाकिस्तानको जितमा कप्तान अब्बास अफ्रिदीले १२ बलमा एक चौका र आठ छक्कासहित ५५ रन बनाए । उनले कुवेतविरुद्ध ४५८ को स्ट्राइकरेटमा ब्याटिङ गरे । ओपनर ख्वाजा नाफायले २५, साहिद अजिजले २३ र मोहम्मद साहजादले १४ रन थपे ।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले चार ओभरमा एक विकेट गुमाएर ५७ रन मात्र बनाएको थियो । तर, यसपछिका दुई ओभरमा ६७ रन बनाएपछि पाकिस्तानले रोमाञ्चक जित निकालेको हो ।

पाकिस्तानले अन्तिम १२ बलमा कुल ११ बाउन्ड्री प्रहार गरेको थियो । जसमा १० छक्का र एक चौका समावेश छन् ।

जितसँगै प्रतियोगिताको पुल ‘सी’ मा रहेको पाकिस्तानले दुई अंक जोडेको छ । यो पुलमा पाकिस्तान र कुवेतसँगै भारत छन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता छ । जसमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार