स्वर्ण जयन्ती अवसरमा नारायणगढ जेसीजद्वारा ‘जेसीज सप्ताह–२०२५’ आयोजना

नारायणगढ । युवा नेतृत्व विकास, सकारात्मक परिवर्तन र समुदायमा सक्रिय योगदानका उद्देश्यसहित नारायणगढ जेसीजले हरेक वर्षझैँ यस वर्ष पनि ‘जेसीज सप्ताह–२०२५’ भव्यरूपमा मनाउने भएको छ। संस्था स्थापनाको ५० औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसर पारेर कार्तिक २३ देखि २९ गतेसम्म साताव्यापी विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ।

राष्ट्र निर्माणमा युवाको भूमिका प्रभावकारी बनाउने लक्ष्यसहित नारायणगढ जेसीजले विगत पाँच दशकदेखि व्यक्तित्व तथा नेतृत्व विकास, सामुदायिक सेवा, उद्यमशीलता प्रवर्द्धनलगायत विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको स्वर्ण जयन्ती सप्ताह ‘एकता, सहकार्य र सामाजिक उत्तरदायित्व’ मुख्य विषयवस्तुमा केन्द्रित हुनेछ।

साताव्यापी कार्यक्रम अन्तर्गत समाज, शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा खेलकुदलाई समेट्दै विभिन्न गतिविधि सञ्चालन गरिनेछ। कार्यक्रमअनुसार कार्तिक २३ गते जेसीज सचिवालय, भरतपुर–०१ मा सप्ताह तथा स्वर्ण जयन्ती स्मारक उद्घाटनबाट कार्यक्रम सुरु हुनेछ। त्यस्तै २४ गते पत्रकार महासंघ चितवन र नारायणगढ जेसीजबीच मैत्रीपूर्ण फुटसल, २५ गते भरतपुरका सामुदायिक विद्यालयबीच वक्तृत्व प्रतियोगिता, २६ गते कुरिनटारस्थित जेसीज गाउँमा शैक्षिक सामग्री हस्तान्तरण, २७ गते उद्योग वाणिज्य संघमा व्यवसायी–युवाबीच बीजनेश संवाद, २८ गते सामुदायिक प्रहरी केन्द्रमा पोषण सम्बन्धी जनचेतनात्मक अन्तर्क्रिया र २९ गते स्वर्ण जयन्ती विशेष समापन कार्यक्रम हुनेछ।

जेसीज अध्यक्षका अनुसार यो सप्ताहमार्फत संस्थाको पाँच दशकको यात्रा, सामाजिक योगदान र आगामी योजनाबारे समाजलाई अवगत गराइनेछ । उनले यसमा समुदायका विभिन्न क्षेत्रका सरोकारवालाहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार