चितवन, २०८२ कात्तिक १४ – चितवनमा यात्रुबहाक दुई बस ट्रकमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। दुर्घटना गएराति करिब १ बजेतिर भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा भएको हो।
प्रहरीका अनुसार रौतहटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबस र सोही बसको पछाडि जनकपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को बस अगाडि गईरहेको ना–६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन्।
दुर्घटनामा दुवै बसका ३३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो। घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक पुरीले बताउनुभयो। दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्को चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


