काठमाडौँ, कात्तिक ७ – नेपाली महिला राष्ट्रिय फुटबल टोली आज इरानसँग मैत्रीपूर्ण खेलमा भिड्दैछ। भारतको शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।
उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप छनोटपछि नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। टोलीमा विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी ‘साम्बा’, पूजा राई र एन्जिला तुम्बापो सुब्बा पुनः समावेश भएका छन्।
यो खेल नवनियुक्त प्रशिक्षक नबिन न्यौपानेको नेतृत्वमा टोलीले खेलने पहिलो अवसर पनि हो। प्री-म्याच कन्फरेन्समा प्रशिक्षक न्यौपानेले अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र यी मैत्रीपूर्ण खेलहरूमा नयाँ खेलाडीहरूको परीक्षण गर्ने बताएका छन्।
नेपालले १० कात्तिकमा भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ भने १३ कात्तिकमा भारतकै विरुद्ध अर्को एक अनअफिसियल खेल पनि तय भएको छ।
फिफाको पछिल्लो वरियतामा भारत ६३औं, इरान ७०औं र नेपाल ८९औं स्थानमा रहेका छन्।


