कञ्चनपुर, कात्तिक ४ –
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वर्षात्को अन्त्यसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट पुनः सञ्चालनमा ल्याएको छ। सात दिनअघि खुलेको निकुञ्जमा हाल सवारीसाधनका लागि विशेष रुट निर्धारण गरिएको हो।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार, वर्षात्को कारण घाँसेमैदान क्षेत्र जलमग्न भएकाले सवारी आवतजावतमा कठिनाइ भएकाले वैकल्पिक रुटमार्फत प्रवेशको व्यवस्था गरिएको हो। “पर्यटकको सहज पहुँच सुनिश्चित गर्न मझगाउँ–बर्कौला–शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै मझगाउँ फर्किने परिपत्र रुट सञ्चालनमा ल्याइएको छ,” चौधरीले जानकारी दिए।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले यी रुटहरू पुरानै भए पनि हालको अवस्था अनुसार प्रयोगमा ल्याइएको बताए। “मुख्य घाँसेमैदान क्षेत्रमा अहिले पनि पानी जमिरहेकाले ती क्षेत्रतर्फ सवारीसाधन प्रवेश गराउन सकिने अवस्था छैन,” बाग्लेले भने, “तर निर्धारित रुटमार्फत पर्यटकले घना जङ्गल, विविध वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्नेछन्।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई लगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका चराहरू पाइन्छन्। साथै, निकुञ्जभित्र रहेको शुक्लाफाँटा घाँसेमैदान, बाबाताल, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र र बर्कौला प्रमुख पर्यटकीय आकर्षणका बिन्दु हुन्।
निकुञ्ज प्रशासनले वर्षाको पानी सुकेपछि घाँसेमैदानभित्रको सडकसमेत खुला गर्दै पूर्ण जङ्गल सफारी सञ्चालनमा ल्याइने जनाएको छ। “हाललाई पर्यटकको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै सीमित रुट मात्र सञ्चालन गरिएको हो,” सूचना अधिकारी बाग्लेले स्पष्ट पारे।
पश्चिम नेपालमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो जैविक विविधताले भरिपूर्ण निकुञ्ज विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिङ्गा) को महत्वपूर्ण बासस्थानका रूपमा समेत चिनिन्छ।


