काठमाडौं,कार्तिक ३ गते।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन, धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी लक्ष्मीपूजा गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले आज घर आँगन सफा–सुग्घर बनाई दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने परम्परा निर्वाह गर्दैछन्।
‘सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्’ भन्ने जनविश्वासका आधारमा आज बिहानैदेखि घरघरमा सरसफाइ, लिपपोत र सजावटको चटारो छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने चलन छ।
यस दिन बेलुका घरको मूलढोकादेखि पूजाकोठासम्म रंगोली र रङ्गीचङ्गी बत्तिहरूले सजाइन्छ। तेल वा विधुत दीप बालेर देवी लक्ष्मीलाई स्वागत गरिन्छ। लक्ष्मीपूजाको अवसरमा घरमा लक्ष्मी, गणेश र पुस्ताका देवताको पूजा गरी धनधान्यको कामना गरिन्छ।
लक्ष्मीपूजा विशेषगरी व्यापारिक प्रतिष्ठान, पसल, अफिस र कलकारखानाहरूमा पनि धूमधामका साथ मनाइँदैछ। व्यापारिक दृष्टिले पनि यो दिन निकै महत्वपूर्ण मानिन्छ।
आजको दिनलाई दीपावली वा लक्ष्मीपूजा पनि भनिन्छ। दीपावलीको उज्यालोले अन्धकार हटाउने विश्वाससाथ घर–घरमा दीप प्रज्वलन गरिन्छ।


