काठमाडौं, २ कार्तिक २०८२।
हिन्दू धर्मालम्बीहरूले आज कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। यमराजका दूतका रूपमा कागको पूजा आराधना गरी मीठोमीठो परिकार खुवाएर यो पर्व मनाउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, आज आइतबार सूर्योदयकालमा त्रयोदशी तिथि परेको हुँदा शास्त्रसम्मत रूपमा यही दिन काग तिहार मनाइनुपर्ने निर्णय गरिएको हो।
शास्त्रीय मान्यताअनुसार, यमराजले लोकका खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा पूजा गरिन्छ। कागले यमराजसमक्ष शुभ सन्देश पुर्याओस् भन्ने कामनासहित आजको दिन कागलाई दही, भात लगायत मीठो परिकार खुवाएर खुसी पार्ने गरिन्छ।
जनविश्वासअनुसार काग घरमा आई कराएमा केही खबर लिएर आएको बुझिने र “शुभ बोल, शुभ बोल” भनी स्वागत गर्ने चलन छ। त्यसैगरी, प्राचीन शास्त्रमा उल्लिखित ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मनपर्छ भन्ने आधारमा दही भात खुवाउने परम्परा रहिआएको छ।
यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा एवं आराधना गरिँदैछ। हनुमानढोकास्थित मन्दिरमा कागको ठूलो मूर्तिसमेत स्थापित गरिएको छ।
यस्तै, तिहार पर्व यमराज र धर्मराजसँग जोडिएको मान्यता पनि छ। दुष्कर्म गर्नेहरूलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेहरूलाई धर्मराजले संरक्षण गर्ने विश्वास गरिएको छ।
पर्वको क्रममा शनिबार साँझदेखि नै यम दीपदान कार्यक्रम सुरु भइसकेको छ। वैदिक परम्पराअनुसार दीप दक्षिण फर्काएर बाल्ने चलन रहेको छ। यम दीपदानबाट यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
यस वर्ष तिथिमा घटबढ भएकाले शनिबार साँझदेखि नै यमपञ्चक सुरु भएको हो। साथै, लक्ष्मीलाई स्थिर राख्न गरगहना तथा तामाका भाँडाकुँडा किनिने धनतेरस पर्व पनि शनिबार नै मनाइएको थियो। यो दिन गरगहना किन्दा लक्ष्मीले घरमै स्थायित्व पाउने धार्मिक मान्यता रहिआएको छ।


