काठमाडौंका प्रमुख सरकारी कार्यालयमा आगजनी, सिंहदरबारमा अझै नियन्त्रणमा छैन आगो

काठमाडौंका प्रमुख सरकारी कार्यालयमा आगजनी, सिंहदरबारमा अझै नियन्त्रणमा छैन आगो

परिवेश नेपाल/ भदौ २४ ।
जेन–जी आन्दोलनकारीले मंगलबार दिउँसोदेखि राजधानीका प्रमुख सरकारी केन्द्रहरूमा आगजनी गरेपछि काठमाडौं संकटग्रस्त बनेको छ। दिउँसो करिब ३ बजे सिंहदरबारभित्र आगो सल्केपछि राति अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

सिंहदरबारभित्र रहेका अधिकांश मन्त्रालय भवनमा आगो फैलिएको छ भने काठमाडौंको आकाशभरि बादल भए पनि वर्षा नहुँदा आगो निभाउन कठिनाइ भएको छ।

आन्दोलनकारीले दिउँसो सिंहदरबारको मुख्य प्रवेशद्वार र पश्चिम गेटमा आगजनी गर्दा पनि सुरक्षाकर्मी तत्काल उपस्थित हुन सकेनन्। तोडफोड र आगजनीपछि प्रदर्शनकारी क्रमशः बाहिरिन थालेपछि मात्रै साँझपख सेनाले सशक्त उपस्थिति जनाएको थियो।

सिंहदरबारसँगै महाराजगञ्जस्थित राष्ट्रपति भवन, बालुवाटारको प्रधानमन्त्री निवास र नयाँ बानेश्वरस्थित संसद भवनमा लागेको आगो पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

त्यस्तै, काठमाडौंकै बौद्ध, महाराजगञ्ज र सोह्रखुट्टेमा रहेका डिएसपी कार्यालयहरूमा समेत आगजनी भएको छ। अधिकांश प्रहरी बिट जलेका छन् भने कीर्तिपुर र गोकर्णेश्वर नगरपालिकाका कार्यालय भवनमा पनि प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका छन्।

सुरक्षाकर्मीले राजधानीका संवेदनशील स्थलमा बाक्लो निगरानी बढाएको भए पनि राजधानीमा अझै त्रास र अशान्ति कायम रहेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार