ध्वंसको खरानी र नेतृत्वको मौनता
चितवन – देशभरि देखिएको जेन–जि आन्दोलन परिवर्तनको आवाज थियो, तर त्यसले ल्याएको परिणाम ध्वंस र निराशा मात्रै बनेको छ। युवाले खोजेको सपना संस्थागत परिवर्तन हो, तर आज हामीसँग बाँकी रहेको छ—जलेका अदालत, खरानी बनेका प्रशासनिक कार्यालय, ध्वस्त निर्वाचन प्रणाली र नेतृत्व को मौनता ।
युवाले व्यवस्थाविरुद्ध उठाएको आवाजलाई नकार्न सकिँदैन। यो आन्दोलन कुनै व्यक्तिविरुद्ध होइन, व्यवस्थाविरुद्धको असन्तुष्टिको परिणाम थियो। तर, नेतृत्वको कमजोरीले ३६ घण्टासम्म कुनै ठोस निर्णय दिन नसक्दा नेतृत्व सहित को युवा समुह अभिभावक विहिन तर्फ मोडिदैं छ । त्यसबीचमा अदालतदेखि प्रशासन, मालपोत, निर्वाचन कार्यालयलगायत देशका प्रमुख सरकारी निकायमा आगजनी र तोडफोड भए। यसले राज्यका संरचनालाई मात्र नभई आम नागरिकको भविष्यलाई समेत संकटमा पारेको छ।
जनताको पसिनाले बनेका स्थानीय संरचना जलाइएका छन्। विरोध व्यवस्थासँग थियो, तर ध्वंस जनताको सम्पत्तिमा भयो। पुनर्निर्माणको भार फेरि त्यही सर्वसाधारणले बेहोर्नुपर्ने छ, जसले पहिले पनि कर तिरेका छन्। प्रश्न उठ्छ—के यो आन्दोलनले सत्तालाई झुकायो वा सर्वसाधारणलाई झुकायो?
अझ भयावह पक्ष सुरक्षा हो। बन्दघेराबाट निस्किएका अपराधीहरू समाजमा हिंडिरहेका छन्। जसले जुनसुकै बेला निर्दोषलाई मार्न सक्छन्, सम्पत्ति लुट्न सक्छन्। राज्यको पहिलो तह नै जलेपछि सुरक्षा भरोसा गर्ने आधार कहाँ छ?
नेपाल साझा घर हो, तर आज यो घर खरानीमा बसिरहेको छ। परिवर्तन संवादबाट सम्भव हुन्छ, हिंसाबाट होइन भन्ने सत्य फेरि प्रमाणित भएको छ। तर प्रश्न अझै खुला छ—जलेको खरानीबाट नेतृत्व जाग्छ कि फेरि मौन रहन्छ?


